वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021
सिलगढी वरिष्ठ महिला समूहको मासिक भेटघाट आज दिनांक २९/१२/२०२१ बुधबारको दिन दिल कुमारी छेत्रीको नयाँ वासगृहमा भयो। उहाँको नयाँ घरको गृहप्रवेश भएको हुनाले हामी बाहेक हैदरपाढा समाज सेवा समितिका भजन मण्डलीबाट महिला सदस्याहरू पनि उपस्थित थिए। समाजसेवी दिलिप तिवारी सरको असामयिक निधन भएको हुनाले एक मिनटको मौन धारणबाट कार्यक्रम शुरू भयो। तिवारी सरको सामाजिक क्रियाकलाप लतिका गुरुमाले यसरी राख्नु भयो:- उनी देवकोटा संघका संस्थापक सदस्य, सिलगढी गोर्खा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष, नन्दी तिवारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, सिलगढी कृष्ण माया नेपाली हाई स्कूल संचालन समितिका पूर्व सचिव, नेपाली साहित्य प्रचार समितिका आजीवन सदस्य, नेशनल गोर्खा फेडरेशका प्रथम अधिवेशनमा सचिव, भारतीय गोर्खा परिसंघका आजीवन सदस्य, नेपाली भाषी गोर्खा समाजका एकजना अभिभावक, शुभ चिन्तक, सिलगढी रविरत्न महाविद्यालयका मूल खाम्बो भएर महाविद्यालयमा सेवा पुर्याउने प्राध्यापकहरुलाई आफ्नै खल्तीबाट तनखा दिएर हाम्रा नानीहरूलाई शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने काम गर्नु भएको थियो। ९४ औं अगमसिंह गिरी जयन्तीमा, देवकोटा संघमा उपस्थित भएर,२८/१२/२०२१ मंगलमयको दिन अचानक सिलगढीको एउटा निजी नर्सिङ होममा जीवनको अन्तिम निश्वास लिए। त्यसपछि कोषाध्यक्ष एल आर भूटियाले समुहको फाटवारी राख्नु भयो। पूरानो संयोजिका सावित्री भुजेलको मियाद सकिएको हुनाले जनवरी २०२२देखि शान्ता छेत्री लाई संयोजिका चयनित गरियो। निर्देशिका सुधा पासीले दार्जीलिङ घुम्न गएको बेला दार्जीलिङको स्थानीय प्रशासनले सफाई अभियानमा चुकेका हुनाले पहाडकी रानी सौंदर्यकी खानी दार्जीलिङलाई मैलाको खानी देखेकी गुनासो पोखिन्। गौरी प्रधान सुब्बाले अगमसिंह गिरी रचित कविता नचिनिने भएछौ कविता पाठ गरिन् भने ललिता जोशीले स्वरचित कविता,मेडोना थिङले मुन्सी प्रेम चन्दको कविता पाठ गरिन्।एल आर भूटिया, शान्ता छेत्री, हेमन्त दाहाल , पद्मा छेत्री र पुष्पा ठकुरीले पूरानो नेपाली गीतहरु गाएर कार्यक्रम रमाइलो रमाइलो बनाए। लतिका गुरुमाले कार्यक्रम संचालन गर्दै भए पनि पारिवारिक यात्रा कर्नाल हरियाणा र वैष्णवी मन्दिरको सबिस्तार वर्णन सुनाइन्। अन्तमा दिल कुमारी छेत्रीले परिवारलाई चिनाउनु भयो अनि परिवारले हामीलाई स्वागत साथै प्रेमले भोजन गराएर पश्चात् कार्य कार्यक्रम समापन गरियो
Comments
Post a Comment