भैलेनी
#भैलो खेल्न जानु पर्छ है... लु सिक्दै गाउँदै गरौँ...
भैलेनी आयौँ आँगन
बडारी कुँडारी राख न।
हो औँसीको दिन गाई तिहार हो भैलो।
खोलामा पानी सलल
औँसीको रात झलल।
हो औँसीको दिन गाई तिहार हो भैलो।
बादल छैन आकाशमा
चिसो बढ्यो बतासमा।
हो औँसीको दिन गाई तिहार हो भैलो।
घर-आँगनको डिलैमा
खुसी फुल्यो फुलैमा। हो औँसीको...
रङ्गीचङ्गी वरिपरि
फूलै र बत्ती झिलिली। हो औँसीको...
दिनै भयो घमाइलो
चारै दिशा रमाइलो। हो औँसीको...
सयपत्री र मखमली
रमाउँदैछन् बात गरी। हो औँसीको...
बुट्टा-बुट्टा मिरिरी
ठाउँ ठाउँ राम्रो बाबरी। हो औँसीको...
चितुचाङ्गे थरीथरी
हाँस्दै खेल्दै गफ गरी। हो औँसीको...
वर्षदिनको चाडैमा
हजुरका घरैमा। हो औँसीको...
सम्झाउनी र बिर्साउनी
आयौँ खेल्न भैलेनी। हो औँसीको...
आयो गयो माया मोह
आएन गएन को हो को। हो औँसीको...
कुनाकानी हेऱ्यौ कि
धुलो मैलौ फाल्यौ कि। हो औँसीको...
बाँसघारीमा साँप होला
रिसानीमा माफ होला। हो औँसीको...
घरैमाथिको ढिस्कना
घरपट्टि आमा निस्कन। हो औँसीको...
कालो कात्तिक कहाँ हो र
अँध्यारो नै कहाँ छ र। हो औँसीको...
गीतै गाउनु स्वर हाली
मनको मैलो पखाली। हो औँसीको...
दुख-कष्ट भुलेर
पर्व मान्नु मिलेर। हो औँसीको...
सानो ठुलो को छ र
मरिलानु के छ र। हो औँसीको...
माया दया मनैमा
मिठो बोली ओठैमा। हो औँसीको...
घर घरै पुग्ने जमर्को
भैलेनीको यो लर्को। हो औँसीको...
घरपट्टि आमै चिन्यौ कि
पोहोर पनि आयौ नि। हो औँसीको...
भैलो भैलो गाउँदै छौँ
बर्सेनि त आउँदै छौँ। हो औँसीको...
खेतैभरि धान झुल्यो
रमाइलोमा मन भुल्यो। हो औँसीको...
सातै रङ्गको इन्द्रेनी
त्यस्तै हामी भैलेनी। हो औँसीको...
जुनै लुक्यो लाजैलै
फूल-बत्तीको साजैले। हो औँसीको...
घरपट्टि आमै हाँस न
भैलेनी छेउ बस न। हो औँसीको...
घोडा बाँध्ने तबेला
हामीलाई भयो अबेला। हो औँसीको...
यहाँ मात्रै कहाँ हो र
जान्छौ गाँवै घुमेर। हो औँसीको...
बाँचेका छौँ र हाँसेका छौँ
हाँसेका छौँ र बाँचेका छौँ। हो औँसीको...
आसिक दिन्छौँ मनैको
दुख नहोस् धनैको। हो औँसीको...
सुख शान्तिले बास गरोस्
रोग कष्टले घर भुलोस्। हो औँसीको...
चिताएको पुगिरहोस्
ओठमा हाँसो खुलिरहोस्। हो औँसीको...
शत्रु कहिल्यै नलागोस्
कलहले नघेरोस्। हो औँसीको...
मङ्गल होस् सुन्दर होस्
माया प्रेमको संसार होस्। हो औँसीको...
बिदा माग्छौँ यसपालि
अर्को सालको भाका लिई। हो औँसीको...
Comments
Post a Comment