Happy Birthday bro!(missing you)
मेरा बा तिनवटा युद्ध झेलेर पनि घर आई चालिस वर्ष पेन्सन खाई पर्लोक गमन गर्नु भो तर मेरा दाईलाई अनेक बिमारीको मुखेञ्जीबाट बचाएर ल्याएपछि यो रशायन विश्व युद्धले लुट्यो। ठुला ठुला बन्दुक र मिसाईलको केही महत्व रहेन।
मानव सभ्यतामा आएको संकटमा विज्ञानको हार भएको छ। चुनौतीहरू कम छैनन। परिवार बाहेक अरू कोही यो पोजेटिभ कुरूकक्षेत्रमा होमिन चाहादैनन। चाहानेहरूको बाध्यता छ, एउटा जिवीका अर्को पारिवारिक बाध्यता।
अस्सीको दशकमा उसले घरैमा पुलिसको लाठ्ठी झेल्न पर्यो गोर्खाल्याण्डको आन्दोलनको शुरूवात थियो सुके पोखरीमा,सिआरपिएफले पनि कमजोर नब्सलाइ मात्र दबाउदो रहेछभन्ने पाठ मैले त्यहा सिकें।
विचारा दाई बाह्रको अन्तिम परिक्षाको तैयारीमा नेपालीको पाठ पढ़दै थिए त्यसताक ।
जसोतसो बाह्रपास गरी सरकारी कलेज दार्जीलिङ्गबाट स्नातकसम्म भए, तब उसले राजनितिको खुढ़कीलोको ए बी सी सिक्दै थिए, छात्र परिषदबाट जेनरल सेकरेटेरी भई कलेजका हिरो भई खुशीको दिन ब्यतित गरे।
फेरी छ्यासीको गोर्खाल्याण्ड आन्दोलन र सुकेको आगलागीले हामीलाई लावारिस बनायो। काम खोज्न जिविका उपार्जन गर्न सिक्कीम लाग्यौ। जौंरी जस्तो जुगालाग्ने पश्चिम सिक्कीममा उसले केही दिन व्यतित गरि फेरी घर फर्के।
नब्बेको दशकमा मानेभञ्याङमा डेपुटेशनमा शिक्षक नियुक्त भई विहेबारी गरि घरजम बसाएर ,छोरो जन्मिएको पाँच दिन हुदा नै फेरी सुकेमा आगलागी हुदा सबैकुरो गुमाएपछि सिलगढ़ीमा उनको बसोबास थियो।
यो आन्दोलनले हाम्रो जीवनमा कति जिग- ज्याग , जिगस- पजल जस्तो घुमायो।
फेरि यहाँ शान्तिले कहाँ बाँच्न दियो र, ल्याण्ड माफियाहरूले ब्यर्थको लान्छन लगाई ननबेलेबल सेक्सन लगाई एट्रोसिटी लगाएर झेल पठायो। व्यर्थै एउटा होनहार जीवनलाई कालो खाईतिर ढकेली रह्यो। तरै पनि उसले हार खाएन सत्यको जित भयो उ बाहिर निस्केर केही पञ्चायती व्यवस्तामा भाग लिने चेष्टा गर्यो, तर त्यति सफलता भने हाशिल गर्न सकेन। उसको एउटै दोष थियो उ जमिन्दारको नाती थियो। गोर्खाली थियो, जति जति गोर्खाल्याण्ड सरकारलाई माग्यौं उति उति यसरी हाम्रोहातबाट जमिन लुट्ने काम भयो, व्यवस्था लुटने काम भयो।
पुलिसको कुटाई, झेलको यातनाले उसको शरिरलाई छिया छिया पार्दै गयो, अनि मृगौलाको बिरामीले सतायो। दुई तीन वर्ष यसको यातना सहेपछि, फेरी उसको जीवनमा बाहार आयो, उसैको एउटी आफन्तले किडनी प्रदान गरि पानीको महत्व बुझेर बोतल बोकी घट-घट पानी के पिउदै थियो, रमाईलो जीवनको सपना के देख्दै थियो, सानो छोरोको विहे गर्ने घरमा रंग लगाउने, दशैंमा खशी काटेर उत्सव गर्ने सोच्दै मात्र थियो, फेरी कालो दिनले उसलाई छोपी हाल्यो।
यो रशायन युद्धको शिकार भयो। अनन्त यात्रातिर लाग्यो। पति - पत्नी दुवै स्वास्थ्य हुनु भनि अस्पताल लागे, श्रीमति यसै रसायनलाई परास्त गर्न अस्पतालमा लड़ी रहेछन,उनलाई थाहा नै छैन यस युद्धमा श्रीमानलाई परास्त गरि रातो- रात नस्वर शरिरलाई बैतर्नी तराई सकेको छ भनी।
यो गोर्खाल्याण्डको आन्दोलनले एकातिर हाम्रो भविष्य निमोटेको छ भने अर्को तिर विश्व महामारिले हामीलाई चेपेको छ। हामी पनि यस रशायन युद्धसित जुझी रहेका छौ
एउटा निर्दोष बालकले आफ्नो भविष्य स्वर्णीम देख्दा दाख्दै राजनिति, परिसथिति, भाग्यले कति अड़चन लाउदो रहेछ मैले उसलाई हेरी बुझेको छु।
निर्दोष विद्यार्थी थानामा कुटाई खाएको, सिआरपिएफको यातना डिएसपी होण्डाको अनुमति,तर ती डिएसपीलाई पनि सायद थाहा छैन होला मैले एक निर्दोष विद्यार्थीको जीवन बरबाद गरें भनी।
ल्याण्ड माफिया,चोर चण्डालहरूले एउटा सोझो व्यक्तीलाई अशान्त पारेको जरा त उहि वासभुमी भन्दा भन्दै लुटिएका हामी र नराम्रो अशर एउटा जिवनमा परेको यतार्थ हो ललीत जोशीको जिवन।
पैंतलामा हिर्काएको , बन्दुकको बटले सिर फोङ़ेको आँखामा मेरो झल- झल छ,त्यसपछिको दिन स्ट्राईक अनि परिक्षा दिन जान पर्ने दार्जीलिङ नर्थ पोईन्ट कलेज, पद यात्रा गरि सुकेदेखि दार्जीलिङ पुगी परिक्षा दिएर हप्तादिनसम्म साथीभाई कहाँ बस्न परेको, के यही दिनहरू देख्नलाई रहेछ भने जस्तो लाग्छ आज मलाई।
तर रशिक थिए, हँसीला थिए, गफ्फी थिए जे जस्तो थिए परिवारलाई बाँधि राखेका थिए, समाजिक कार्यमा सदा अघि थिए। रामलाल अधिकारी सेवा समितिका हर्ता- कर्ता सदस्य अनि सर स्व रामलाल अधिकारीका प्रिय छात्र थिए ।
Comments
Post a Comment