समाचार कान्अतिपुरी

सिड्नीमा दोस्रो महिला साहित्यकारहरुको सम्मेलन भव्य

अष्ट्रेलिया — डायस्पोरामा रहेका महिला साहित्यकारहरुको योगदान र उनीहरुलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु भएको छ ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स शाखाको आयोजनामा भइरहेको यस कार्यक्रमका लागि विश्वका विभिन्न देशहरुबाट साहित्यकारहरु सिड्नी आइसकेका छन् । शुक्रबारदेखि शुरु भई आइतबारसम्म चल्ने उक्त साहित्यिक सम्मेलनमा साहित्य लगायतका अन्य विविध विषयमा चर्चा र छलफल भइरहेको आयोजक संस्थाका महासचिव विकास उप्रेतीले जानकारी दिए । महिला साहित्यिक सम्मेलनका साथै कार्यक्रममा काब्य गोष्ठी समेत आयोजना हुने उनले जानकारी दिए ।

नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यकारहरुको योगदान लगायतका विषयमा आइतबार कार्यपत्र प्रस्तुत गरिने भएको छ भने यस सम्मेलनले विश्वभरि छरिएर रहेका नेपाली महिला साहित्यकारहरुलाई एकै स्थानमा ल्याउने विश्वास आयोजकको छ । शुक्रबार भएको उद्‍घाटन कार्यक्रममा विश्वभरिबाट आएका साहित्यकारहरुलाई सम्मान स्वरुप गाला डिनरका साथै मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको महासचिव उप्रेतीले बताए ।

कार्यक्रममा अमेरिका, इजरायल, हङ्गकङ्ग, भारत, कोरिया, नेपाल लगायतका देशहरुबाट साहित्यकारहरु सहभागी छन् । यसैगरि बिभिन्न क्षेत्रमा रहेर उल्लेखनीय कार्य गरेका महिलाहरुलाई सम्मान गरिएको छ भने सिड्नीकी साहित्यकार सानु घिमिरेलाई कविता तर्फको उत्कृष्ट बर्ष पुरस्कार प्रदान गरिएको छ । ‘हाम्रो उद्देश्य भनेको नेपाली डायस्पोरामा रहेर साहित्यिक क्षेत्रमा लागिपरेका नेपाली महिलाहरुलाई अझ प्रोत्साहन गर्नु हो । संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले भने, यसले नेपाली महिला साहित्यले समेत सशक्त योगदान पुर्‍याउन सक्छ भन्ने सन्देश दिनु समेत हो ।’




सम्मेलनमा पत्रकार तथा साहित्यकार भीमसेन सापकोटाद्वारा लिखित ‘प्रश्नमा ईश्वर’ नामक कृत्ति पनि सार्वजनिक गरिएको छ । कार्यक्रमको समापनको दिन महिला साहित्य सम्बन्धि बिभिन्न कार्यपत्रहरु प्रस्तुत गरिदैछ भने विभिन्न रचना वाचनहरु समेत हुनेछ भने प्रवासमा पनि कसरी महिला साहित्यकारहरुको भूमिका प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल समेत हुने आयोजकले बताएको छ ।

प्रत्येक दुई बर्षमा हुँदै आएको यो कार्यक्रमले सिड्नी घोषणापत्र समेत जारी गर्ने आयोजकले जानकारी दिएको छ भने तेस्रो साहित्य सम्मेलन अमेरिकामा हुने भएको छ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा